2026/04/14

रास्वपा महामन्त्रीको प्रश्न : गोर्खा मिडियामा जीबी राई र पार्टीमा मेरो गल्ती, उहाँको पदले कहिले गल्ती गर्दैन ?

Admin

२०८१-०३-२०

441
Shares

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टीमा भए गरेका गल्तीको भार सभापति रवि लामिछानेले आफूमाथि थोपरेको पार्टीका महामन्त्री मुकुल ढकालले आरोप लगाएका छन् ।

बुधाबर बसेको पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले केही दिन पहिले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा महामन्त्री ढकालको चर्को आलोचना भएको स्रोतले बताएको छ । बैठकको अन्तिममा महामन्त्री ढकाललाई जवाफ दिन केन्द्रीय समितिमा माग भएको थियो तर उनी भने आफूमाथि अभद्र व्यवहार भएको भन्दै केन्द्रीय कार्यालयबाट बाहिरिएका छन् ।

पार्टी सुधारका लागि पहल गर्दा समस्या सिर्जना गरिएको ढकालको भनाइ छ । 'पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ ?,' ढकालले भने, 'गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो (प्रबन्ध निर्देशक रवि लामिछाने) त्यहाँ चाहिँ सभापति अर्थात् अध्यक्ष जिबी राई गल्ती ? निर्णय सबै थाहा हुन्छ र पार्टी सभापति हुनुहुन्छ अनि महामन्त्रीको गल्ती ? उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ ?'

पार्टीका उपसभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेले बैठकमै महामन्त्रीमा आफूलाई नमान्ने घोषणा गरेको भन्दै ढकालले असन्तुष्टि जनाए । 'उपसभापतिहरूले भनिसक्नुभयो आजदेखि महामन्त्री मान्दैनौं । बैठकमा उहाँहरूले मलाई ह्यारेस गर्नुभयो । मलाई बोल् कि बोल् भन्नुभयो,' ढकालले भने, 'एउटा राजनीतिक प्राणीको रूपमा बैठक लाइभ नगरेको अवस्थामा म बोल्दिनँ भनिसकेको थिए तर बोल् बोल् भन्ने ?'

पार्टीमा गलत कामको विरोध गर्दा आफूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि ढकालको भनाइ छ । 'एउटा व्यक्तिले विरोध गर्‍यो त्यसलाई कारबाहीको प्रक्रिया अगाडि बढाइन्छ भने रास्वपा अब प्रतिपक्ष बन्दैछ, कुन नैतिकताको आधारमा सरकारको विरोध गर्छ ? कुन नैतिकताको आधारमा प्रतिपक्षमा बस्छ ?,' उनले भने ।

आफूलाई पार्टीको चिन्ता लागेको ढकालको भनाइ छ ।

441
Shares

©News Kunja 2021-2026. All rights reserved.