उनको इन्स्टाग्राम एकाउन्टमार्फत शुक्रबार पाण्डेको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको सार्वजनिक भएको थियो । इण्डिया टुडेका अनुसार, उनका म्यानेजरले समेत पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको बताएका थिए ।
तर, शनिबार इन्स्टाग्राममा भिडियो पोष्ट गर्दै पुनमले ‘आफू जीवितै रहेको’ खुलाएकी छन् । आफ्नो पुरानो पोष्टले धेरैलाई दुःखाएको प्रति माफी माग्दै पुनमले भनेकी छन्, ‘हो, मैले मेरो मृत्युको झुठो खबर फैलाएँ तर, मैले सर्भिकल क्यान्सरबारे सचेतना फैलाउनलाई यो गरेकी थिएँ ।
मृत्युको खबर सार्वजनिक भएपछि सबैले पाठेघरको मुखको क्यान्सरको कुरा गरिरहेको भन्दै उनले भनेकी छन्, ‘यो यस्तो रोग हो, यसले थाहै नपाइ तपाईंको ज्यान लिन्छ र यो रोगबारे धेरै चर्चा हुनु जरुरी छ, जुन मेरो मृत्युको समाचारले गरेको छ ।’
पाण्डेको इन्स्टाग्राम अकाउन्टमा शुक्रबार सेयर गरिएको पोस्टमा ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्री प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनीयता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं’ भन्ने उल्लेख थियो ।
यो पोष्ट सार्वजनिक भएपछि कलाकार कंगना रनावत र अनुपम खेरले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका थिए । इण्डिया टुडेमा प्रकाशित एक समाचारमा पाण्डेको सुरक्षागार्डले आफू विरामी भएको कहिल्यै उल्लेख नगरेको बताएका थिए ।
पाण्डेको मृत्युको खबरबारे पुष्टि गर्न उनको परिवारका सदस्यहरुलाई सम्पर्क गर्न खोज्दा कि त फोन अफ भएको कि फोन नउठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
शनिबार उनकै एकाउन्टबाट आएको पोष्टले उनको मृत्युको खबर झुटो खबर फैलिएको थियो ।
पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीतर्फ उनी ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा सहभागी थिइन्