अछाम — जिल्लामा खुला महिला भलिबल प्रगियोगिता संचालन भइरहेको छ । सम विकास नेपाल अछामले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजना गरेको प्रतियोगिता मंगलबार राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले साँफेबगरमा उद्घाटन गरेकी हुन् ।
'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद र महिला सशक्तिकरणका लागि खेलकुद' भन्ने मूल नाराका साथ सञ्चालित पालिकास्तरीय प्रतियोगिता मंसिर २२ गतेसम्म चल्ने छ ।
आयोजक संस्थाकी कार्यकारी निर्देशक पशुपति कुवँरका अनुसार महिलामाथि हुने विभिन्न खालका हिंसालाई खेलकुदको माध्यमबाट न्यूनीकरणका लागि बल पुग्ने छ ।
सुदूरपश्चिमका महिलाहरु अहिले पनि छाउपडी, बालविबाहजस्ता थुप्रै समस्यासँग जुधिरहेको भन्दै पराजुलीले यस्ता हानिकारक तत्वसँग लड्न महिलाका लागि आत्मविश्वास र आत्मबल बढाउने खालका कार्यक्रम आवश्यक रहेको बताइन् । ‘महिलाहरुलाई यस्ता प्रतियोगिताका साथै आत्मरक्षाजस्ता तालिम पनि आवश्यक छन् । जसले गर्दा अप्ठेरो परेको बेला महिलाहरु आफैंले लड्न सकुन्,’ उनले भनिन् ।
अछामका दश वटै स्थानीय तह, विभिन्न गैरसरकारी संस्था र व्यवसायीहरुको आर्थिक सहयोगमा प्रतियोगिता संचालन गर्न सम्भव भएको उनले बताइन् । उनका अनुसार स्थानीय तह, क्याम्पस गरी १२ टिम दर्ता भएका छन् ।