2026/07/30

अर्ना वियरले दियो क्रिकेटरहरूलाई ४१ लाख रुपैयाँ पुरस्कार

Admin
Admin

२०८०-०७-२१

517
Shares
अर्ना वियरले दियो क्रिकेटरहरूलाई ४१ लाख रुपैयाँ पुरस्कार

आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यतति ब्रुअरीको उत्पादन अर्ना बियरले पुरस्कार रकम प्रदान गरेको छ ।

अर्नाले पूर्व निर्धारित घोषणा अनुसार सोमबार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कूल ४१ लाख ७६ हजार बराबर पुरस्कार खेलाडीहरुलाई प्रदान गरेको हो ।

अर्नाले वितरण गरेको पुरस्कारमध्ये १८ लाख ७७ हजारको चेक नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई प्रदान गरिएको हो ।

उक्त रकम राष्ट्रिय टिमका १५ खेलाडीसहित टिममा रहेका तर छनोट खेलमा नपरेका अलराण्डर दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विनोद भण्डारी र प्रतिश जिसीका साथै राष्ट्रिय टीमका म्यानेजर सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही, भिडिओ एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने, स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच अब्दुल सतार, कन्सल्टेन्ट कोच नन्दन हन्मन्त फडनिसले समानरुपमा प्राप्त गर्नेछन् ।

जसमा बराबर भाग लगाउँदा प्रत्येक खेलाडीलाई ९० हजारको हाराहारी पर्न आउने देखिएको छ । यो अर्नाले सेमिफाइनल र फाइनल खेलका लागि घोषणा गरेको पुरस्कार हो ।

यस्तै अर्नाले समूह चरणमा भने खेलाडी केन्द्रीत पुरस्कार घोषणा गरेको थियो । नेपालले समूह चरणमा सिंगापुरसँगै ओमान र मलेसियासँग खेलेको थियो । जसमा अर्नाले खेलाडीहरूलाई उनीहरूको प्रदर्शनका आधारमा नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

ब्याट्सम्यानलाई प्रत्येक रनका लागि एक हजार, चौकाका लागि १० हजार (अतिरिक्त) र छक्काका लागि २० हजार (अतिरिक्त) दिने उद्घोष गरेको थियो ।

यस्तै, बलरलाई प्रत्येक डट बलका लागि एक हजार, मेडन ओभरका लागि १० हजार, विकेटका लागि २५ हजार नगद दिने अर्नाले घोषणा गरेको थियो । दोस्रो म्याचमा पुरस्कारको विधा थप्दै रनआउट र क्याच गर्नेलाईसमेत २५ हजार दिने घोषणा गरेको थियो ।

अर्नाले समूह चरणका यी तीन खेलमा कूल २२ लाख ९९ हजार खर्च भएको जनाएको छ । उक्त २२ लाखमध्ये सबैभन्दा धेरै पुरस्कार पाउनेमा ओपनर कुशल भूर्तेल रहेका छन् ।

प्रतियोगिताकै सर्वाधिक धेरै रन बकाएका भूर्तेलले समूह चरणको खेलबाट मात्रै ५ लाख ३ हजार प्राप्त गरेका छन् । समग्रमा उनले ५ लाख ९३ हजार हाराहारीमा रकम प्राप्त गरेका छ्न । त्यस्तै सबैभन्दा धेरै रकम पाउने दोस्रो खेलाडी कुशल मल्ल हुन् । उनले समूह चरणको खेलमा मात्रै अर्नाको तर्फबाट २ लाख ९० हजार प्राप्त गरेका छन् ।

त्यस्तै अविनाश बोहराले २ लाख २४ हजार, आसिफ शेखले २ लाख ३९ हजार, कप्तान रोहित पौडेलले १ लाख ६३ हजार, गुल्सन झाले एक लाख ४१ हजार ५ सय, सन्दीप लामिछानेले १ लाख ८२ हजार, सन्दीप जोराले ७० हजार, विवेक यादवले १ लाख ४१ हजार, करण केसीले २ लाख २ हजार ५ सय र सोमपाल कामीले १ लाख ४३ हजार रकम समूह चरणको खेलबाट प्राप्त गरेका छन् । उनीहरुलाई सोमबार एक कार्यक्रमको आयोजना गरेर अर्नाले उक्त रकम हस्तान्तरण गरेको छ ।

517
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja