नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् ।
क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताए ।
'आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ', उनले भने । अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताए ।
अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनको भनाइ छ । यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।
उता क्यानका निर्वाचित सचिव पारस खड्काले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने बताए । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ ।
त्यस्तै क्यानको अध्यक्षमा चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित भएका थिए ।
महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भए ।
अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भए ।
त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित भए ।
त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गर्दा गोलाप्रथा गर्दा महतरा विजयी भए ।
पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गरेका थिए ।