2026/07/29

सल्यानमा घरभित्र आमा-छोरीको शव, आगो लगाएर हत्या भएको आशंका

Admin
Admin

२०८०-०५-३१

584
Shares
सल्यानमा घरभित्र आमा-छोरीको शव, आगो लगाएर हत्या भएको आशंका

सल्यानको त्रिवेणीमा शंकास्पद अवस्थामा आमा छोरीको शव फेला परेको छ। त्रिवेणी गाउँपालिका–२ धारढुंगा गाउँकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको आगोमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो।

आमा छोरीलाई आगो लगाएर कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।  ‘उनीहरुको आधा जलेको शव शनिबार बिहान घरभित्र फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले नेपालखबरसँग भने, ‘घटनास्थलको प्रकृति हेर्दा कसैले आगो लगाएर आमा छोरीको हत्या गरेको जस्तो देखिन्छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।’

रेवतीका पति शुकबहादुर थापा रोजगारीको लागि भारतमा छन्। उनी दुई महिनाअघि मात्रै घरबाट भारत गएका छिमेकीले बताएका छन्।टिनले छाएको घरमा आमा छोरी मात्रै बस्दै आएका थिए। घटनाबारे प्रहरीलाई स्थानीयले शनिबार बिहान साढे ७ बजे खबर गरेपछि आफूसहितको टोली घटनास्थलमा पुगेको डीएसपी कार्कीले जानकारी दिए। 

‘घरमा दुईवटा ढोका रहेछन्। एउटा ढोकाको चुकुल बारिबाट बन्द थियो। अर्को ढोकाको चुकुल भित्रबाट बन्द थियो,’ डीएसपी कार्कीले भने, ‘आगलागी भएको ठाउँ हेर्दा कसैले हत्यापछि जलेर मृत्यु भएको जस्तो देखाउन आगो लगाएको आशंका गर्ने आधारहरु छन्। हामीले कुकुर लगेर पनि अनुसन्धान गरेका छौँ।’उनीहरुको मृत्यु शुक्रबार साँझै भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। दुबै शव पोष्टमार्टमका लागि शनिबार साँझ नेपालगञ्ज लगिएको छ।  ‘पोष्टमार्टम रिपोर्टले पनि उनीहरुको मृत्युको कारण खुल्ला,’ डीएसपी कार्कीले भने, ‘घरभित्र आगोमा जलेर आमा छोरीको मृत्यु भए पनि आगलागीबाट घर जलेको छैन।’

अनुसन्धानका क्रममा धेरैसँग सोधपुछ गरिए पनि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जनाएको छ। ‘केही व्यक्ति शंकाको घेरामा छन्। उनीहरुमाथि हामी निगरानी गरिरहेका छौँ,’ डीएसपी कार्कीले भने। 

584
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja