काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरी गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।
न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइको कागजात भए झिकाउन आदेश दिएको एक कानुन व्यवसायीले बताए ।
सन्दीपविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको इजलासमा पेसी तोकिएको थियो ।
काठमाडौं जिल्ला अदालतले थुनामा पठाएका लामिछाने उच्च अदालतको आदेशबाट छुटेका थिए ।
सन्दीपले आफूलाई काठमाडौंको एक होटेलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै १७ वर्षकी एक किशोरीले २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।