2026/07/28

विदेशमा गतिलो रोजगारी दिने भन्दै लाखौँ ठगी, चारजना समातिए

Admin
Admin

२०८०-०५-११

568
Shares
विदेशमा गतिलो रोजगारी दिने भन्दै लाखौँ ठगी, चारजना समातिए

काठमाडौँ, ११ भदौ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समिर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

उनका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट रु पाँच लाख ४५ हजार, सुनुवारले एक जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पटक–पटक गरी रु दुई लाख, खड्काले एक जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक रु पचास हजार तलबमा काम लगाइदिने भन्दै रु एक लाख ९४ हजार र गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

मगरलाई काठमाडौँको टोखाबाट, सुनुवारलाई काठमाडौँको मनोहराबाट तथा खड्कालाई काठमाडौँकै सामाखुशीबाट शुक्रबार र गुरुङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरिएको थियो । 

पक्राउ परेकालाई थप अनुसन्धान तथा    कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले बताए ।
 

568
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja