अछाम — ढकारी गाउँपालिका–८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको निर्मम हत्या भएको एक वर्ष बितेको छ ।
घटनामा संलग्न एक किशोर गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा फरार भएपछि पीडित परिवारको पीडा झन् बढेको छ । जिल्ला प्रहरी अछामका अनुसार अभियुक्त दुवै किशोर १८ वर्षमूनिका भएकाले उनीहरूलाई बाल न्याय ऐनअनुसार सुधार गृह डोटीमा राखिएको थियो । तर भदौ २४ गते डोटीस्थित बालसुधार गृहबाट एक किशोर फरार भएका छन् ।
गत वर्ष घटनापछि अछाम प्रहरीले प्रेम सम्बन्ध, यौन प्रस्ताव अस्वीकार र घटना लुकाउन नमानेकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार घटनामा संलग्न दुई किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत अछामबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको, प्राविधिक र पोस्टमार्टम रिपोर्टका निष्कर्षबारे अन्य जिज्ञासाको जवाफ अझै खुल्न बाँकी छ।
जिल्ला अदालत अछामका स्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार आइतबार उक्त घटनाको पेसी तोकिएको थियो । तर सरकारी वकिल सरुवा भएर नयाँ आएकाले घटनाको फाइल अध्ययन गर्नुपर्ने कारण देखाउँदै पेसी स्थगित गरिएको छ । ‘बालसुधार गृह डोटीबाट एक जना जेन्जी आन्दोलनका बेला फरार भएको खबर आएको छ । सम्भवतः अर्को पेसीमा फैसला हुन सक्छ,’ स्रेस्तेदार कुञ्जेडाले भने ।
मृतक सरस्वतीका बुवा उदयराम खड्काले एक वर्ष बित्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । ‘एक वर्षदेखि रातदिन रोइरहेको छु । हत्यारा नै फरार भएको सुन्दा झन् छटपटी भएको छ,’ उनले भने,‘एक वर्ष बित्यो अहिलेसम्म पनि न्यायको टुंगो लागेको छैन । मेरी नातिनी र छोरीको हत्यारालाई जन्मकैद हुनै पर्छ ।’ दोषीलाई कडा सजाय नदिए यस्ता घटना फेरि दोहोरिन सक्ने डर रहेको उनले बताए ।
घटना के थियो ?
प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती दुई किशोरहरूसँग करिब एक वर्षदेखि फोन सम्पर्क र भेटघाटमा थिए । घटनाको दुई दिनअघि नै चारै जनाबीच जंगलमा भेट्ने योजना बनेको थियो । माघी तिहार मनाउन गाउँ आएका ती किशोरहरू निर्धारित समयभन्दा अगाडि नै जंगलमा पुगेर खोलाको किनारमा कुरेर बसेका थिए।
चारै जना भेट भएपछि उनीहरूबीच सामान्य कुराकानी, गीत, भिडियो सेयर र प्रेमसम्बन्धका विषयमा संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुराकानीकै क्रममा ती किशोरहरूले मायाको चिनो भन्दै दोपट्टा मागेका थिए । इशरा दोपट्टा दिन तयार भए पनि सरस्वतीले अस्वीकार गरेपछि घटनास्थलमै विवाद सुरु भएको देखिन्छ। प्रहरीका अनुसार विवादको मूल कारण शारीरिक सम्बन्ध राख्न सरस्वतिले स्पष्ट रुपमा असहमति राख्नु थियो ।
बाख्रा फर्काउने क्रममा ती किशोरहरूले सरस्वतीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । तर सरस्वतिले विवाह गरेपछि मात्र शारीरिक सम्बन्ध राख्ने अडान लिएकी थिइन् । किशोरहरूले आफूहरूको उमेर कम भएको र केही वर्षपछि विवाह गर्ने आश्वासन दिँदै सम्बन्ध राख्न दबाब दिएको बयान प्रहरीमा दिएका छन् ।
सरस्वतिले उक्त प्रस्ताव अस्वीकार गर्दै खोलातर्फ लागेपछि आक्रोशमा एक किशोरले नजिकै रहेको ठूलो ढुंगाले सरस्वतीको टाउकोमा प्रहार गरेको प्रहरीको निष्कर्ष छ । पहिलो प्रहारमै सरस्वतिको घटनास्थलमै मृत्यु भए पनि त्यसबेला अन्य दुई जनालाई मृत्यु भइसकेको जानकारी नभएको प्रहरीको भनाइ छ ।
हत्या भएको थाहा पाएपछि घटनालाई दुर्घटना जस्तो देखाउन सरस्वतिको शव रहेको स्थानमा माथिबाट ठूला ढुंगा खसालिएको अनुसन्धानमा खुलेको छ । यस क्रममा खोलाको माथिल्लो भागबाट ढुंगा अडेस लगाएर खसालिएको र घटनास्थल कृतिम बनाइएको प्रहरीले जनाएको छ ।
सरस्वतीको मृत्यु देखेपछि इशरा घटनास्थलमा पुगेकी थिइन् । साथीको मृत्यु देख्दा इशराले ती किशोरहरूलाई दोष लगाउँदै घटना सबैलाई बताउने भन्दै रोइकराई गर्दै घरतर्फ जान खोजेकी थिइन् । तर इशराले घटना लुकाउन नमानेपछि उनलाई पनि मारिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार एक किशोरले इशरालाई पछाडिबाट धकेलेर ढुंगाले निधारमा प्रहार गरेका थिए भने अर्को किशोरले ढलेकी इशराको अनुहारमा पटक–पटक ढुंगा प्रहार गरी हत्या गरेर घटनास्थल छाडेका थिए ।
प्रहरी अनुसन्धानले यो घटना आकस्मिक विवाद मात्र नभई सहमति बिना शारीरिक सम्बन्ध राख्न खोज्दा भएको जघन्य हिंसा भएको निष्कर्ष निकालेको छ । अस्वीकार सहन नसक्ने मानसिकता, आक्रोश र घटना लुकाउने प्रयासकै क्रममा दुई किशोरीको ज्यान गएको प्रहरीको ठहर छ ।