2026/04/14

कैलाली–१ : रेशम चौधरीको उम्मेदवारी खारेज

Admin

२०८२-१०-०९

237
Shares

माघ ८, २०८२

काठमाडौँ — कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ।

चौधरीविरुद्ध बुधबार उजुरी दर्ता भएपछि निर्वाचन अधिकृतको कार्यालयले कानुनी अध्ययन गर्दै उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

टीकापुर घटनासँग सम्बन्धित व्यक्ति हत्या अभियोगमा चौधरी सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए। पछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सजाय माफी दिएका थिए।

तर, २०८० जेठ २ गते सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। उक्त फैसलाको दुई साताभित्रै गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट सजाय माफी दिइएको थियो।

निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णयमा भनेको छ,

“राष्ट्रपतिबाट सजाय माफी भएको कारणले मात्र अदालतको फैसला बदर नहुने भएकाले उम्मेदवारी खारेज गरिएको हो।”

यसअघि निर्वाचन आयोगले समेत राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूको व्याख्या गर्दै फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन अयोग्य हुने निर्णय गरिसकेको थियो। आयोगले त्यस्ता व्यक्तिलाई दलको अध्यक्ष वा जिम्मेवार पदमा अद्यावधिक गर्न नमिल्ने स्पष्ट पारेको थियो।

237
Shares

©News Kunja 2021-2026. All rights reserved.