माघ ७, २०८२
काठमाडौँ — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूविरुद्ध दाबी तथा विरोधका उजुरी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशम चौधरीलगायतका उम्मेदवारविरुद्ध उजुरी परेको हो ।
नेकपा नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेकाले उम्मेदवार हुन अयोग्य रहेको दाबी गर्दै उजुरी दर्ता गरिएको छ ।
यसैगरी, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रेशमलाल चौधरीविरुद्ध पनि उजुरी परेको छ । उनी टिकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । यद्यपि, उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर रिहा गरिएको थियो ।
त्यस्तै, सुनसरी–२ बाट रास्वपाका उम्मेदवार लालबिक्रम थापा, भक्तपुर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री र सोही क्षेत्रबाट नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध पनि उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
रास्वपाका उम्मेदवार राजीव खत्रीविरुद्ध नेपाल स्काउटबाट लिएको ९५ हजार रुपैयाँ पेस्की फर्छ्यौट नगरेको दाबीसहित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
यस्तै, जानुका पाठकविरुद्ध भने नागरिकताको विवरण र मनोनयनपत्रमा उल्लेख विवरण नमिलेको दाबी गर्दै उजुरी परेको हो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ताको समय तोकिएको थियो । सो अवधिमा भक्तपुरमा २, रौतहटमा १, सुनसरीमा १ र कैलालीमा १ उजुरी दर्ता भएका छन् । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि बिहीबार साँझ ५ बजेसम्म छानबिन गरी टुंगो लगाइने उनले बताए ।