ढकारी , अछाम - विद्या प्रबोधनी माविको आगनमा ंबिदाका दिन बाहेक अन्य दिन एकै साथ आइपुग्ने १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का अब कहिल्यै देखिने छैनन् । ८ कक्षामा पढ्ने उनीहरुको बस्ने बेञ्च रित्तिएको छ । स्कुलका उनीहरुका दौतरी एक्ला भएका छन् । एकाघरका फपू भदैनी र स्कुलका मिल्ने साथी सरस्वती र इशरालगायतका ५ जना एउटै बेञ्चमा बस्थे ।
अब त्यो कक्षा कोठाको बेञ्चमा यी दुई जना कहिल्यै हुने छैनन् । कक्षा कोठामा इशराको रोल नम्बर १९ र सरस्वतीको २३ हो । रोल नम्बर १९ र २३ भनेर शिक्षकले हाजीर लगाउने बेला ‘यस सर’ भनिने ती आवाज सदाका लागि अस्ताएका छन् । मेलापात , घाँस , दाउरा गर्न सँगै जाने उनीहरुका गाउँका साथीहरु , आमा , भाउजू , दिदीहरुसँग अब उनीहरु कहिल्यै हुने छैनन् । बिदाको दिन १५ बाख्रा लिएर सरस्वती र ६ बाख्रा लिएर इशरा अब कहिल्यै गोठालो जाने छैन् । पल्साता कलिलै उमेर दुई किशोरी गुमाउँदा पल्साँता गाउँ शोकमा डुबेको छ ।
६१ वर्षीया आमा तारा खड्काको लागि उमेरको उत्तरार्धको साहारा थिइन् छोरी सरस्वती । ३ छोरी र छोराले अलि पहिले नै बिहे गरे । सबै आआफ्नो परिवार सम्हालेर बसेका छन् । दाइ दिदीहरु वृद्धावस्थाका बुवा आमासँगं बहिनी सरस्वती भएकाले ढुक्क थिए । उमेरले ६५ नाघेका उनका बुवा घटना घटेको सममयमा पनि कामको लागि भारतमै थिए । छोरीको मृत्युको खबर सुनेपछि मंगलबार साँझ घर आइपुगे ।
आफ्नो बुढेशकालको साहारा ढलेपछि सरस्वतीकी आमा अझै अचेत छन् । छोरीसँग अन्तिम पटक ६ दिन अगाडी आमा ताराले कुरा गरेकी थिइन् । सरस्वतीकी आमाले गत शुक्रबार बिहान करिब ११ बजेको समयमा छोरी गोठालो जाँदै गर्दा भनेकी थिइन् ,‘ बाख्रा ल्याएर आज छिट्टै आएस् । चामल सकिएका छन् । धान कुट्नु पर्नेछ ।’ तर उनी फर्किइनन् । शनिबारदेखि रुँदारुँदै उनकी आमाका आँखा ओभानो भएका छैनन् ।
होस् आएको बेला सरस्वतीकी आमा भन्छिन् ,‘ मेरो कपाल कोर्नै छ । लुगा मैला भए, धुन बाँकी छ । चामल सकिएका छन् , धान कुट्न बाँकी छ । छिटो आइजाल चल्ली , छिटो आइजा मेरा प्याउली फूल ........... ’ यति भनिसकेपछि उनी बेहोस् भएर ढल्छिन् । सारा गाउँका मान्छे उनलाई सम्झाउन खोज्छन् । तर उनी झन् धेरै गाह्रो अवस्थामा पुगेकी छन् ।
इशाराकी आमा कला बोल्नै नसक्ने गरि अर्धचेत अवस्थामा छन् । कामको लागि भारत गएका इशराका बुवा अन्तिम दाहसंस्कार गर्ने बेला पुगे । चार भाइबहिनी मध्ये इशरा माइली हुन् । साथीहरुसँग बढी घुलमिल हुने , खेलकुदमा रुची राख्ने इशरा सबैकी प्रिय थिइन् । घरभित्रको कामदेखि मेलापातको काममा छोरी हुर्केदेखि आमा कलालाई धेरै सहज भएको थियो ।
उमेरले ४० मात्रै नाघेकी उनकी आमालाई छिमेकीले छोरीले दिएको सुख कम उमेरमै खान पाउने भाग्यमानी आमा भन्थे । तर अब इशारा आमाको काममा सहयोग नगर्ने गरि अस्ताइ सकेकी छन् । छोरीको शव भेटिएको खबर सुनेपछि उनी ठूलो स्वरमा डाँको छोडेर रोएकी थिइन् । अहिले उनी बोल्नै नसक्ने अवस्थामा पुगेकी छन् । एकछिन् होसमा आउने बित्तिकै छोरीलाई बोलाउँछिन् र फेरी ढल्छिन् । ‘आमालाई सम्हालन धेरै गाह्रो भएको छ । होस् आउने बित्तिकै नानीलाई बोलाउन थाछन् । फेरी ढल्छन् । आमाको स्वास्थ्य अवस्था बिग्रिसकेको छ । बज्यै पनि त्यही हालातमा छन्् ।’ इशराकी भाउजू कृष्णा खड्काले भनिन् ।
बुधबार वर्षाली खोलामा भएको अन्तिम दाहसंस्कारमा इशरा र सरस्वतीका स्कुले साथीहरु पनि पुगे । सँगै पढिरहेका दुई जना साथीहरु एकै पटक गुमाउँदा कोही डाँको छोडेर रोए । कोही भक्कानिए । ‘इशरा र सरस्वतीसंँग धेरे नजिक थिए । सरस्वती बढी लजालु थिइन् । इशरा हास्ने , बोल्ने स्वभावकी थिइन् ’ कक्षा ८ मा पढ्ने लक्ष्मी भण्डारीले भनिन् ,‘ एक वर्ष अगाडी एक महिनासम्म आत्मरक्षा सम्बन्धी तालिम पनि सँगै लिएका थियौं । इशरालाई खेलकुद मन पथ्र्यो ,सरस्वतीलाई नाचेको र गाएको हेर्न मन पथ्र्यो ।’ सँगैका साथीहरु साथमा नभएपछि उनले एक्लो महसुस गरिरहेकी छन् ।
शुक्रबार छिन्ने जंगलमा बाख्रा चराउन गएका इशरा र सरस्वतीको शव शनिबार दिउँसो करिब ४ बजेको समयमा १५ मिटरको दूरीमा शव क्षतविक्षत अवस्थामा भेटिएको थियो ।
शंकास्पद मृत्यु प्रकरणमा दुई जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । ढकारी ंगाउँपालिकाकै २० वर्षमूनिका दुइ किशोरको नाममा मुद्या दर्ता भएको जिल्ला प्रहरी कार्यालय अछामका पूमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरीसँग भएको सम्पर्कलाई मूख्य आधार बनाएर किटानी जाहेरी आएको र मंगलबार नै मुद्या दर्ता भैसकेको उनले बताए ।
स्रोतका अनुसार आइतबार नियन्त्रणमा लिएका दुई जनाले आफूहरु हत्यामा संगलग्न भएको संकेत दिएको र अन्य पनि संग्लग्न भएको जानकारी दिएको आधारमा प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउदै लिएको छ । ‘ ११ वर्षीय बालकको बयानले प्रहरीलाई अनुसन्धान गर्न धेरै सहयोग पुगेको देखिन्छ । यो घटनामा संग्लग्न भएको आशंकामा अझै केही प्रक्राउ पर्न सक्छन् । सुरुमा नियन्त्रणमा लिएकाहरुले हत्यामा संगलग्न भएको लगभग स्विकारेको देखिन्छ’ स्रोतले भन्यो ,‘अहिलेसम्मको अनुसन्धाले हत्या नै भएको संकेत गरिरहेको छ । कसरी , किन भन्ने सन्दर्भमा नियन्त्रणमा लिएकाहरुको बयान र पोस्टमार्टम रिर्पोटले धेरै कुरा बताउने छ ।’
सुरुमा प्रहरी नियन्त्रणमा लिएकाहरुको बयान र बालकले दिएको बयान मिल्दोजुल्दो देखिएकाले हत्या नै भएको तथ्य बाहिर आउने स्रोतले बतायो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी गणेशबहादुर चन्दले बिहिबार बिहान पीडीत परिवार परिवारलाई भेटेर न्याय दिने बताएका छन् । मृतक परिवारका किशोरीकी आमा र परिवारका सदस्यहरुको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे ।
‘काठमाडौंबाट टोली आएको छ । महेन्द्रनगरको टोली आएको छ । प्रदेशको टोली ल्याएर म आफैं आएको छु । ५/६ टोली लागिरहेका छन् । छिट्टै नै अपराधी पत्ता लाग्छ । कानुनी कठघरामा उभ्याएर कडाभन्दा कडा सजाय हुन्छ ’ पीडीत परिवारलाई डिआइजी चन्दले भने ,‘ ढुक्क भएर बस्नुस् , कानुनी कठघरामा दोषी छिट्टै उभ्याउँछौं ।’ नघट्नु पर्ने घटना घटीसकेकाले पीडीत परिवारले आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । ‘ कलिलो उमेरमा एकै घरका दुई जनाको मृत्यु भएको छ । बाचेकाले त बाँच्नै पर्यो । तपाईहरु खाना खाइदिन्ुस्, आफ्रनो स्वास्थ्यको ख्याल गर्नुस् ’ डिआइजी चन्दले पीडीत परिवारलाई भने ,‘ ढकारीमा सुरक्षा सर्तकता बढाउछौं । प्रहरीको गस्ती डुलिरहने छ । गाउँमा नयाँ मान्छे कोही आए सोधपुछ गरिदिन्ुस् । ’