2026/07/28

ढकारी घटना : दुवै शव क्षतविक्षत अवास्थामा , परिवार भन्छ :योजनाबद्ध हत्या हो

Admin
Admin

२०८१-१०-१४

595
Shares
ढकारी घटना : दुवै शव क्षतविक्षत अवास्थामा  , परिवार भन्छ :योजनाबद्ध हत्या हो

ढकारी अछाम -ढकारी गाउँपालिका –८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का स्कुलका मिल्ने साथी हुन् भने एकै घरका फूपु भदै हुन् । एकाघरका फूपु भदै शुक्रबार घोडासैन र ढकारीको सिमाना छिन्ने जंगलमा बाख्रा चराउन गए । तर शुक्रबार अबेरसम्म घर फर्किएनन् । शनिबार दिउँसो करिब ४ बजेको समयमा एकै ठाउँमा फुपू भदैको शव क्षतविक्षत अवस्थामा भेटियो । सरस्वतीका बुवा र इशराका बाजे एक भाइ हुन् । उनीहरु स्कुल जानेदेखि मेलापात र घरको काममा पनि जहिल्यै सँगै हुन्थे ।

विद्या प्रबोधनी मावि घोडासैनमा उनीहरु दुवै जना कक्षा आठमा पढ्थे । १५ औं राष्ट्रपति रनिङ सिल्डका लागि बिहबारदेखि विद्यालयका खेलाडी छनोट पक्रिया सुरु भएको थियो । सरस्वतीले कबडी खेलमा भाग लिएकी थिइन् । छनोट खेल खेल्ने क्रममा सरस्वतीको खुट्टामा चोट लाग्यो । त्यसपछि खेलबाट बाहिरिइन् ।

इशराकी भाउजु कृष्णा खड्काका अनुसार विद्यालयमा छनोट खेल चलिरहेकाले शुक्रबार नियमित पठनपाठन भएको थिएन । पढाइ नहुने भएपछि फूपु भदै बेसी झरे । ‘हिउँदमा चिसो हुने र खेतिपातिको काम औल ९बेसी० मा हुने भएकाले हामी तल छानामा सर्छौं । नानीहरुको स्कुल थिएन । उनीहरु पनि काम सघाउन भनेर तल झरेका थिए ’ उनले भनिन् ,‘शुक्रबार दिउँसो खाना खाएर सधैं गइराख्ने जंगलमा गए । साँझ अबेरसम्म दुवै जना  आएनन् । तर बाख्रा आइसकेका थिए ।’ कृष्णाका अनुसार दुवै जना नआएपछि परिवारमा मान्छेले ओल्लो पल्लो गाउँमा खोजी गरे । तर पनि दुवै जना भेटिएनन् । त्यसपछि गाउँमा दुवै जनाले भागेर बिहे गरेको हल्ला चल्यो ।

‘ बाख्रा चराउन गएका दुवै जना नफर्केपछि परिवारले मरिन् होला ,कसैले मार्यो होला भन्ने तर्फ सोच्दै सोचेनौं । मेरी नन्द इशरा ढकारीकै एक जना केटालाई फोन गर्थिन् भन्ने मलाई अलिअलि थाहा थियो’ कृष्णाले भनिन् ,‘गाउँमा त्यही केटाले भगाएर लिएको हल्ला चल्यो । भदैले भागेर बिहे गरेपछि फूपु सरस्वती कतै डरले लुकेकी हुन सक्छन् भन्ने सबै परिवारले शंका गर्यौं ।’

कहिलेकाही  नन्दले ती ढकारीका केटालाई भाउजु कृष्णाको नम्बरबाट पनि फोन गर्ने भएकाले शुक्रबार दिउँसोदेखि कृष्णाले नन्द हराएको बारे ती केटालाई जानकारी गराइन् । ‘नन्द घरमा नआएपछि मैले ती केटालाई फोन गरे । उसले इशरालाई चिन्छु । मेरो फोनमा पनि कुरा हुन्छ भन्यो । त्यसो भए इशरा कता छन् भनेर मैले सोध्दा ढकारी घर बताउने केटाले दिउँसो जंगलमा आफूले भेटेको बताए ’  कृष्णाले भनिन् ,‘ ती केटाले आफू लगायत ३ जनाले दिउँसो इशरा र सरस्वतीलाई जंगलमा भेटाएर बोलेको , आउ एकछिन् बसौं भन्दा नमाने मलाई भनेका थिए । घर आएका छैनन् भने कतै जंगलमा खसेका छन्की हेर्न जानुसम्म भनेपछि हामीलाई तिनिहरुमाथि धेरै शंका छ ।’

घोडासैन गाउँबाट करिब ४ घण्टा तलको घनाजंगलमा सरस्वती र इशराको मृत शरिर शनिबार साँझ मात्रै खोलामा माछा मार्न जाने टेकबहादुर बुढ्थापा लगायतको समूहले देख्यो । ‘हामी शनिबार माछा मार्न गएका थियौं । जहाँ इशराको शव छ त्यो ठाउँमा अघिल्लो दिन मात्रै मैले तरुल कोरेको थिएँ ’ टेकबहादुरले भने ,‘ ४० केजी जति तरुले कोरेको ठाउँ यही हो भनेर त्यता अरु साथीहरुलाई देखाउँदै थिएँ । राता लुगा जस्ता देखिए । के रहेछ हेर्न जाउँ भनेर सोही ठाउँमा जाँदा टाउको पुरै फुटेको शरिर भरि रगत लागेको शव देख्यौं । हामीले मान्छे चिन्न सकेनौं र लास भेटियो भनेर गाउ“मा खबर गर्दा सबै आए । साँझको समयमा सबै गाउँले आएर अलि माथिसम्म हेदा अर्को शव पनि भेटियो । तीनीहरु त फुपू भदै रहेछन् ।’

एकै घरका दुई छोरीको शव क्षतविक्षत अवस्थामा देखेपछि इशराकी आमा कला र सरस्वतीकी आमा बेहोस् छिन् । दुवै जना बोल्न सक्ने अवस्थामा छैनन् । बेला बेलामा क्षतविक्षत अवस्थामा भेटिएका छोरीहरुको अनुहार हेर्न जाने हिम्मत गर्छिन् । तर सक्दिनन् । खड्का परिवार दुवै जना छोरीको एकै ठाउँमा मृत्यु भएको कुरालाई दुर्घटना मात्रै हो भनेर स्विकार्न तयार छैनन् । ‘१५ मिटर तल एक लास त्यसको सिधै १५ मिटरमाथि अर्को लास छ । हो योजनाबद्ध तरिकाले गरिएको हत्या हो’ सरस्वतीकी भाउजु धनसरादेवि खड्काले भनिन् ,‘हामीलाई हत्या गर्नेमाथि शंका पनि छ । हामीले न्याय पाउनु पर्छ । यसका लागि हामी जहाँ जानु पर्छ जान तयार छौं ।’

आफैं मरेको नभई दुवै जनाको योजनाबद्ध हत्या भएको शंका भएकाले किशोरीलाई सधैं फोन गर्ने र घटना घटेको दिन जंगलमा गएका युवाहरुको नाममा किटानी जाहेरी दिने तयारी गरिरहेको ढकारी गाउँपालिका –८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारीले बताए ।‘ दुर्घटना भएपनि एक जनाको होला । दुवैको टाउको फुटेको छ । हत्या हो भनेर शंका गर्ने धेरै आधार छन्’ भण्डारीले भने ,‘ दुवै जनाका बुवा भारतमा छन् । उनीहरु पनि आउँदै छन् । किटानी जाहेरीको काम अगाडी बढाएका छौं ।’

दुई किशोरीको शव एकै ठाउँमा भेटिएको घटना हृदयविदारक देखिएको घटनास्थल पुगेका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । ‘समयमा सूचना नआउँदा समयमै काम गर्न पाइएन । हामीलाई यो घटनाको बारेमा शनिबार साँझ ६: ४० बजे मात्रै खबर आएको हो । खबर आउने बित्तकै कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर पनि बिहानै घटनास्थलमा पुर्यायौं’ प्रजिअ लम्सालले भने ,‘ घटनास्थलमा गएर हेदा दुर्घटना हुनै नसक्ने भन्ने पनि देखिदैन , एक जना मात्रैको शव छैन । दुई जनाको छ  । स्थलगत अवलोकन गरेर देखेको बाहेक अरु धेरै कुराहरु हेर्नु पर्ने हुन्छ । तिनीहरुसँग भेटिएका मोेबाइलहरु , अन्य सबुतहरुबाट थप अनुसन्धान गर्न बाँकी छ ।  दुवै जनाको पुरै लुगामा छन् । शवलाई उल्टाइपल्टाइ पनि हेरेका छैनौं । घाटीमाथिको भाग दुवै जनाको क्षतविक्षत छ ।’ तालिम प्राप्त कुकुर ल्याइएको र त्यसले देखाएको बाटोलाई थप विश्लेषण हुने उनले बताए ।

दुवै शवमा चोटपटक देखिएकाले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डिएसपी इश्वरी प्रसाद भण्डारीले बताए ।‘चोटपटक लागेको छ । सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । अहिले नै आफैं मारेको हो , कसैले मारेको हो भन्ने अवस्था छैन । प्रमाणहरु संकलन हुँदै छन् ।’ उनले भने । शव पोस्टमार्टमको लागि आइतबार साँझ मात्रै जिल्ला अस्पताल मंगलसेनमा पुर्याइएको उनले बताए ।
 

595
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja