2026/04/16

अछाममा घरेलु हिंसापीडित महिला न्यायको पहुँचबाहिरै

Admin

२०८१-०९-०७

460
Shares

अछाम — मंगलसेनकी निर्मला (नाम परिवर्तन) ३८ वर्षकी भइन् । उनका ३ छोरी र दुई छोरा छन् । सन्तानको पढाइलेखाइ र पालनपोषणका लागि उनी दिनरात काम गर्छिन् । बेलाबेलामा भारतमा काम गर्न जाने उनका श्रीमान् एक वर्षदेखि यतै छन् । तर उनले निर्मलालाई सघाउनुको सट्टा मद्यपान गरेर झन् दुःख दिने गरेका छन् । 

श्रीमान्ले हरेक दिनजसो कुटपिट र छोरीलाई अभद्र व्यवहार गर्न थालेपछि उनी पटकपटक प्रहरीकोमा उजुरी दिन गइन् । तर न्याय पाइनन् । ‘अहिले श्रीमान् र छोरी एउटै घरमा बस्न सक्ने अवस्था छैन । छोरीलाई कुटपिट र अश्लील शब्द प्रयोग गर्न थालेपछि जेठी छोरीलाई १७ वर्षको उमेरमै बिहे गरिदिएँ । माइली छोरी तीन दिनअघि घरमा बस्न सक्दिनँ भन्दै बम्बै गई,’ उनले भनिन्, ‘दिउँसो त अर्काको काम गर्दै समय बित्छ । राति असाध्यै डर लाग्छ ।’

पटकपटक शारीरिक र मानसिक यातना पाएपछि प्रहरीकहाँ उजुरी गर्दा पनि न्याय नपाएको उनको गुनासो छ । ‘प्रहरीले मिलेर बस्न भन्दै घर पठाइदिए,’ उनले भनिन्, ‘आफ्नो र छोराछोरीको ज्यान बचाउनका लागि प्रहरीलाई गुहारेकी थिएँ । त्यता पनि सुनिदिएनन् ।’

कमलबजार–५ की मीना (नाम परिवर्तन) को पीडा पनि निर्मलाको जस्तै छ । जँड्याहा श्रीमान्ले शरीरमा आगो लगाउने प्रयास गरेपछि जसोतसो बाँच्न सफल त भइन् तर शरीरको दायाँ भाग भने आगोले पोलेको छ । हरेक दिन मदिरा सेवन गरी श्रीमान्ले कुटपिट गर्न थालेपछि उनी तनावमा छिन् । १ वर्षमा ५ भन्दा बढी पटक प्रहरीकोमा पुगिसकेकी छन् । स्थानीय न्यायिक समितिसम्म पनि पुगिन् । तर न्याय पाएकी छैनन् । ‘प्रहरीकहाँ उजुरी गर्‍यो भने मिल्नुपर्छ भनेर पठाउँछन्,’ उनले भनिन्, ‘हाम्रो समस्या बुझिदिने कोही छैन । दिवस अभियान के हुन् ? त्यो पनि थाहा छैन ।’

अछाम प्रहरीका अनुसार तीन आर्थिक वर्षमा अछाममा १ सय २९ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३९, २०७९/८० मा ५३ र २०८०/८१ मा हालसम्म ३७ मुद्दा आएका छन् । १ सय ७ उजुरीलाई मिलापत्र गरेर पठाइएको र २२ मुद्दा मात्रै अदालती प्रक्रियामा गएको छन् । ‘धेरै अदालतसम्म जान चाहदैनन्,’ एक प्रहरी अधिकृतले भने, ‘यो संख्याले घरेलु हिंसाको डरलाग्दो अवस्था देखाउँछ ।’ समाजमा बदनामी हुने डरले यस्ता घटना अझै बाहिर आउन नसकेको उनको भनाइ छ ।

460
Shares

धेरै हेरिएका

©News Kunja 2021-2026. All rights reserved.