2026/07/30

उडुससँग नाता गाँसेका प्रधानमन्त्री ओलीलाई ‘झिँगाले टेरेन’

Admin
Admin

२०८१-०५-१०

470
Shares
उडुससँग नाता गाँसेका प्रधानमन्त्री ओलीलाई ‘झिँगाले टेरेन’

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंको अत्याधुनिक सुविधा सम्पन्न भवनको उद्घाटन समारोहका प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली। 

सोमबार बिहान तय भएको सवा ८ बजेको कार्यक्रममा करिब एक घन्टा नौ मिनेट ढिलो आइपुगेका ओलीलाई प्रहरीले सलामीसहित रातो कार्पेट विछ्याएर औपचारिक सम्बोधनका निम्ति हलमा प्रवेश गरायो। 

उक्त भवन निर्माणका निम्ति जग्गा खरिदको निर्णयकर्ता प्रधानमन्त्री समेत रहेका ओली भवन उद्घाटन गर्ने र शिलालेखमा नाम लेखाउनेमा पनि कायम भए। 

८० बर्ष पुरानो हनुमानढोकाको भवन ०७२ सालको महाभूकम्पमा भत्किएपछि प्रहरी परिसरको स्थायी संरचना थिएन। अस्थायी रुपमा उसले टेकुमा कार्यालय चलाइरहेको थियो, त्यो पनि ओलीले नै मिलाइदिएका थिए, प्रधानमन्त्री हुँदा। 

प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले रोचक प्रसङ्ग कोट्याए, उडुसको। ‘हनुमान ढोकासित मेरो पुरानो साइनो थियो। कति बसियो, बसियो। त्यहाँका उडुसहरूसँग त अहिले पनि नाता नै कायम भएको हुनुपर्छ’, उनका ठट्यौली टिप्पणीमा उपस्थित प्रहरीदेखिका अधिकारी केही हाँसे पनि। तर, संयोग केचाहिँ हो भने जतिबेला उनी त्यो प्रसङ्गमा बोलिरहेका थिए, उनलाई एउटा झिँगाले दुख दिइरहेको थियो।

उनी झिँगाले गरेको अबरोधलाई घरी–घरी हातले पन्छाउँथे, खासगरी अनुहारका नाक या कानमा बस्दा।  

घरी नाकमा त घरी ओलीको कानमा बस्थ्यो त्यो झिँगो। ओली प्रहरीको आवश्यक र कर्तव्यका बारेमा प्रवचन गर्दै थिए। उनले यहि प्रसङ्गमा योगाभ्यासको विषयलाई जोडेर भने,‘१९४ शुत्र मध्य पहिलो शुत्र नै योगको सत्य हो। त्यसैले तपाईहरूले सत्यमा काम गर्नुहुन्छ भनेर कहिलेकाहीँ योग अभ्यास गराइएको हो। योगी बन्नुहुन्छ भनेर होइन, बन्ने पुलिस नै हो।’ 

यति भनिरहँदा त्यो झिँगो ओलीले पहिरिएको भादगाउँले टोपीमाथि उक्लिसकेको थियो। आधुनिक भवन र एआईलगायतको प्रविधियुक्त युगमा भौतिक संरचनाको निर्माणले अझ राम्रो काम गर्न सहज हुन्छ भनी ओलीले प्रवचन दिइरहेका बेला त्यो झिँगो ओलीको देब्रे काँधमा कोटमाथि पुगिसकेको थियो।
ओलीले प्रवचन सकेर फर्किँदा झिँगो आफैं अलप भयो कि! 

470
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja