2026/07/29

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

रायबर अनलाइन
रायबर अनलाइन

२०८०-०८-०७

531
Shares
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

काठमाडौं । आज देशको राजधानी काठमाडौं उपत्यकामा दुई छुट्टाछुट्टै प्रदर्शन हुँदैछन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका नेता महेश बस्नेतले छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका हुन् । युवा संघले काठमाडौँको तीन कुने र प्रसाईं संयोजकत्वको महाअभियानले बल्खुमा जनसभा गर्ने छन् ।

कुनै बेला नेकपा माओवादी केन्द्रमा आबद्ध प्रसाईं सो पार्टी छोडेर एमालेमा लागेका थिए । राजतन्त्रको वकालत गर्दै उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान शुरू गर्न थाले । यसपछि एमालेको कारबाहीमा परे । उनै प्रसाईं अहिले विभिन्न बेथिति र गणतन्त्रको विरुद्धमा राजधानीकेन्द्रित प्रदर्शनमा छन् । सोही क्रममा आज बल्खुमा कार्यक्रम गर्दैछन् । प्रसाईंको र्‍याली आज बिहान १०ः३० बजे शुरू हुनेछ । प्रसाईँको महाअभियान सानोठिमीस्थित एसओएसबाट पेप्सीकोला–मित्रपार्क–चाबहिल हुँदै दिउँसो १ बजे बल्खु पुग्नेछ ।

प्रसाईंले प्रदर्शन गर्ने भएपछि एमालेको भ्रातृ संगठन युवा संघले पनि प्रतिकारस्वरुप आजै कार्यक्रम राखेको छ । यसको ‘ब्याकअप’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतले गरिरहेका छन् । गणतन्त्र र व्यवस्थामाथि प्रहार भएको भन्दै प्रदर्शन गर्न लागिएको उनीहरूले तर्क छ । युवा संघले भक्तपुरको सल्लाघारीबाट जुलुस निकाली कोटेश्वर–च्यासलस्थित पार्टी कार्यालय हुँदै बिहान ११ बजे तीनकुनेमा सभा गर्ने तयारी गरेको छ ।

यसैले सम्भावित झडपलाई लिएर सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले पनि प्रसाईं र बस्नेतको समूहलाई प्रदर्शनका लागि छुट्टाछुट्टै ठाउँ दिएको छ । प्रसाईंका लागि बल्खु र बस्नेतका लागि तीनकुने छुट्याइएको हो । 

यसैबीच, आज काठमाडौंमा आयोजना हुने प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले हिजो काठमाडौंमा मसाल जुलुस निकालेको थियो । हिजो साँझ काठमाडौंको भृकुटीमण्डपबाट मसाल जुलुस निकालिएको हो ।

प्रहरी अधिकारीहरूले गरेको सूक्ष्म विश्लेषणमा प्रसाईंको कार्यक्रममा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन् ।

उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेका छन् । 

प्रहरीले चार हजारभन्दा माथि र सशस्त्र एक हजार ५०० भन्दामाथि प्रहरी परिचालन गर्नेगरी तयारी अवस्थामा राखेका छन् । प्रहरीले उपत्यकामा करिब साढे दुई हजार प्रहरी प्रदर्शनस्थलमा खटाउने तयारी गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले एक सूचना जारी गर्दै यस्तो अपिल अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ । प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

 

531
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja