काठमाडौं । कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनमा सक्रिय हमास समूहको नियन्त्रणमा रहेको पुष्टि भएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाली विद्यार्थी जोशी हमास समूहको नियन्त्रणमा रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
‘७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलको किबुज अलुमिनमा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका छन्’, दूतावासले जनाएको छ ।
तथापि, जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको दूतावासले जनाएको छ । ‘निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हमास समूहले ७ अक्टोबरमा किबुज क्षेत्रमा एकाएक गरेको आक्रमणमा नेपाली १० जना विद्यार्थीको मृत्यु भएको थियो भने जोशी बेपत्ता भएका थिए । सरकारले जोशीको सकुशल रिहाइका लागि आग्रह गर्दै आएको छ ।