2026/07/30

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Admin
Admin

२०८०-०८-०२

470
Shares
छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

काठमाडौंं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरूले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चार दिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन व्रतालुहरूले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

छठको मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

 

470
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja