2026/07/28

फूलपातीदेखि दैनिक ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ : कुलमान

Admin
Admin

२०८०-०७-०८

462
Shares
फूलपातीदेखि दैनिक ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ : कुलमान

दसैँमा देशभित्र आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित झन्डै ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ। दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्‌को माग घटेको छ। 

तर, बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाबाट बिनाअवरोध विद्युत् उत्पादन भइरहेको छ। 

प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत आयोजनाबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने बाध्यता भएको बताए। 

‘दसैँका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत्‌का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियाैँ, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, ‘यसबाट दैनिक रुपमा करोडौँ रुपैयाँ गुमाइरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भने।

‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छाैँ, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नुपर्ने अवस्था छ’, उनले थपे। 

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरिरहेको छ। प्रााधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ। 

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ। 

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। 

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। 

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्‌को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो। 

दसैँमा बिनाअवरोध विद्युत् आपूर्ति
नेपाल विद्युत प्राधिकरणले यस वर्षको दसैँमा बिनाअवरोध विद्युत् आपूर्ति गरेको छ। यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्टबाहेक दसैँमा विगत वर्षमाझैँ निर्वाध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘दसैँमा विद्युत् प्रणाली नियमित (स्मुथ) रुपमा चल्यो, कहीँ कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन’, घिसिङले भने। 

प्राधिकरणले दसैँमा विद्युत अपरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुख र प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।

462
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja