अछाम — यतिबेला देशैभर दसैंको माहोल सुरु भएको छ । कोही यात्रामा छन्, कोही लिपपोत गरेर घर सजाउनमा व्यस्त छन् त कोही परदेशी आउने बाटो हेरिरहेका छन् । कात्तिकको महिना बर्खे बाली भित्र्याएर हिउँदे बाली लगाउन कोही खेतबारीमा छन् त कोही दसैंको निमेक गर्नका लागि अछामका स्थानीय बजारमा पुगेका छन् ।
धनगढी , काठमाडौं, नेपालगन्जदेखि आउनेमात्र नभइ मंगलसेन, साँफेबगरमा अस्थायी बसोबास गरिरहेका समेत आफ्नो गाउँ सम्झेर फर्कंदैछन् । व्यवसायीले खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, पुस्तक, खेलकुद, अटोपार्ट्सका सामग्री खरिद बिक्री बढी हुने गरेको बताएका छन् । दसैं चहलपहलका कारण साना तथा ठूला होटल व्यवसायलाई फाइदा पुगेको छ । दसैंले व्यापार व्यवसाय बढेका व्यवसायीहरू बताउँछन् । कोरोना भाइरसको संक्रमणका धरासयी बनेको व्यापार विस्तारै तंग्रिदै गएको व्यवसायीहरू बताउँछन् ।
ढकारी गाउँपालिका ७ का मानबहादुर साउद ५ वर्षपछि दसैं मनाउन शुक्रबार घर पुगे । ५ वर्ष अगाडि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका मानबहादुर दसैं तिहारकै लागि घर आएका हुन् ।
४ वटा दसैं र तिहारको बेला परदेशमा रहेका मानबहादुरले दसैं तिहारको मौसम सुरु हुँदा नै तनाव हुने गरेको अनुभव सुनाए । ‘परदेशमा दसैं तिहारका गीत बज्न थालेपछि नै मन खल्लो भइहाल्ने रहेछ,’ उनले भने ,‘निधार खाली हुन्छ भनेर आफैं अक्षता निधारमा लगाएर पनि मनको शान्ति गरियो ।’ विदेशीनु बाध्यता भएको सुनाउँदै मानबहादुरले तिहार लगत्तै मलेसिया फर्किने बताए । ‘सानोमा गरिबी , अभाव र समस्याले दसैं, दसैं जस्तो भएन । अहिले आर्थिक अवस्था केही हदसम्म सुर्धान विदेशी पसियो बाल्यकालका ती चाहना , रहरहरू अहिले छैनन् । बुढा भएका बाआमालाई भेट्न पनि दसैं बाहना भएको छ ।’
विजया दशमीका केही दिन मात्र बाँकी रहेको बेला दैलो कुरेर बसेका वृद्धवृद्धाहरूको मुहारमा यतिबेला खुसी देखिन्छ । ‘ चार वर्ष भएको थियो नाती नआएको , यो पटक त बम्बैबाट एक हप्ता अगाडि नै आइसक्यो,’ मंगलसेन ५ की ८३ वर्षीया जौमती विकले भनिन् ,‘ढल्किएको उमेर , थला परेको शरिरले छोराछोरी ,नातीनातिना आँखै अगाडि भइदिउन् भनेर खोज्ने रहेछ,’ जौमतीले भनिन् ,‘केही दिनका लागि भए पनि नातीनातीना , छोराछोरी आए , दसैं आए जस्तो भयो ।’
कमलबजार नगरपालिका ६ की धौला शाहीलाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिलाहरू जम्मा भएर टाढाको लेकमा माटो लिन जान्छन् । ‘पक्की घर हुनेहरू चुना लगाउँछन् । माटाका घरमा रातो माटो र कमेरो नै लगाउँछौं, ’ उनले भनिन् ,'माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ । ’
घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनु परेको उनले दुखेसो पोखिन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’ गाउँमा पक्की घर छिटफुटमात्रै छन् । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयााँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीले सुनाए ।