2026/07/29

विनायकमा स्लो बाइक प्रतियोगिता हुने

Admin
Admin

२०८०-०७-०४

514
Shares
विनायकमा स्लो बाइक प्रतियोगिता हुने

 जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा स्लो बाइक प्रतियोगिता सञ्चालन हुने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाको आयोजनामा दशैं तिहारको उपलक्ष्यमा स्लो बाइक प्रतियोगिता गर्न लागिएको हो ।

‘तीब्र गति, जीवन क्षति’ भन्ने मूल नाराका साथ गर्न लागिएको प्रतियोगिता कार्तिक ९ गते पञ्चदेवल क्याम्पसको प्राङ्गणमा हुने आयोजकले जनाएको छ ।

दशै तिहारको समयमा रमाइलो पनि हुने र सन्देशमुलक कार्यक्रम पनि हुने हँुदा सबै तिरबाट सकारात्मक सुझाव आइरहेको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय अछामबाट अनुमति समेत लिइसकिएको र तिब्र गतिले हुने सवारी दुर्घटना कम गर्ने उद्देश्यका साथ सन्देशमुलक कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाका सभापति लोकराज ढकालले बताएका छन् । 

नेपाल रेडक्रस सोसाइटी एउटा सामाजिक संस्था भएकाले समाजमा सकारात्मक सन्देश फैलाउने खालका कार्यक्रम गर्नु आवश्यक रहेको साथै तीब्र गतिका कारण हुने सवारी दुर्घटना कम गर्न सके अकालमा ज्यान गुमाउने जोखिम धेरै कम गर्न सकिने उनले बताए । रेडक्रसले विपदको बेलामा मात्र सहयोग गर्ने नभएर विपद जोखिम न्युनीकरण गर्नका लागि पनि सकारात्मक सन्देश दिन खोजिएको जनाइएको छ ।

स्लो बाइक रेस प्रतियोगिता अछाम जिल्लामा नयाँ कार्यक्रम भएकोले सोचे भन्दा पनि राम्रो सहभागिता हुने विश्वास लिइएको रेडक्रस पञ्चदेवल विनायक उपशाखाका सचिव दिपेन्द्र धामीले बताए ।

यस प्रतियोगितामा सहभागी हुनका लागि नाम दर्ता खुला भइसकेको छ । नाम दर्ताका लागि सहभागीले प्रति व्यक्ति १ हजार रुपैयाँ शूल्क बुझाउनु पर्नेछ । १ सय मिटर लम्बाइको ट्रयाकमा सबैभन्दा बढी समयमा बाइक पुर्याउन सक्ने प्रतियागी क्रमशः प्रथम, द्वितीय र तृतीय हुने प्रावधान रहेको छ । प्रथम हुने व्यक्तिलाई नगद दश हजार सहित प्रमाणपत्र, द्वितीय हुने व्यक्तिलाई नगद सात हजार सहित प्रमाणपत्र र तृतीय हुने व्यक्तिलाई नगद पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो एउटा सन्देशमुलक कार्यक्रम भएकोले यस कार्यक्रमलाई सफल पार्न सबैलाइ सहयोग गर्न पनि आयोजकले आग्रह गरेको छ ।

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja