2026/07/29

कमलबजार नगरपालिकामा तालाबन्दी : प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै

Admin
Admin

२०८०-०७-०२

492
Shares
कमलबजार नगरपालिकामा तालाबन्दी : प्रमुख र उपप्रमुखबीच विवाद चर्किँदै

अछाम — कमलबजार नगरपालिकामा करार कर्मचारीको विषयलाई लिएर सुरु भएको विवाद चर्किँदै गएको छ । अघिल्लो कार्यकालका जनप्रतिनिधिले करारमा राखेका कर्मचारी नीति, विधि र प्रक्रिया बाहिरबाट आएको भन्दै उपमेयरसहितले करार कर्मचारी हटाउनुपर्ने अडान लिएपछि विवाद निस्किएको हो ।

नगरपालिका प्रमुख र उपप्रमुखबीचको विवादका कारण साउनदेखि असोजसम्म तलब पाएका छैनन् । २० जना कार्यपालिका सदस्यमा कांग्रेसबाट निर्वाचित भएका २ जना वडाअध्यक्षसहित नगरप्रमुख यज्ञप्रसाद ढकाल एकातिर र उपप्रमुख सहित १६ जना कार्यपालिका सदस्यसहित कमलबजार नगरपालिकामा एमालेको बहुमत छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुखसहितको कार्यापालिकाले राखेका ७८ जना करार कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राख्नु पर्ने उपप्रमुख शारदा विष्ट कुँवरको अडान रहेको छ । तर नगरप्रमुख ढकालले करारका पुराना कर्मचारीको म्याद थपेर उनीहरुलाई नै राख्नु पर्ने अडान राखेपछि प्रमुख र उपप्रमुखबीच विवाद चर्किएको हो । गत आवमा पनि यही विषयमा विवाद भएपछि असोज ४ गते मात्रै कमलबजार नगरपालिकाले बजेट ल्याएको थियो । तर चालु आवमा कमलबजार नगरपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।

कार्यपालिकामा अल्पमतमा रहेका नगरप्रमुख र बहुमतमा रहेकी उपप्रमुखबीचको मनमुटावले सर्वसाधारण जनताले दुः ख पाएको भन्दै कमलबजारमा क्रियाशिल राजनीतिक दल नेकपा माले , नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी (विप्लव) र नेपाल मजदुर किसान पार्टीले असोज १९ गतेदेखि नै ताला लगाएका छन् । यो बीचमा उपमेयर बाहिर रहेको र असोज ३० गते नगरपालिकाको ताला खोल्नका लागि डाकिएको सर्वदलीय बैठक अगाडि नै उपमेयरले जबर्जस्ती ताला खोलेपछि राजनीतिक दलले फेरि ताला लगाएका छन् ।

नगरप्रमुख र उपप्रमुखको झगडाले पटकपटक जनताले दुः ख पाएको ,अहिलेसम्म नगरसभा हुन नसकेको र बजेटसमेत समयमा ल्याउन नसकेको भन्दै असोज १९ गतेभित्र यी कुराको सम्बोधन गर्न अनुरोध गर्दै राजनीतिक दलहरुले १५ बुँदे माग प्रमुख र उपप्रमुखलाई बुझाएका थिए ।

कमलबजारमा राजनीतिक समस्याका कारण नै विवाद चर्किएको नगर प्रमुख ढकाल बताउँछन् । नगर उपप्रमुखले बहुमतको आडमा पुराना सबै करारका कर्मचारी हटाएर आफू अनुकुल कर्मचारी भर्ना गर्नका लागि विवाद झिकिरहेको उनले आरोप लगाए । ‘गत वर्ष पनि यस्तै समस्या आयो । सबैको सहमतिमा बजेट ल्याउनु पर्छ भनेर असोज ४ गते मात्रै मैले बजेट प्रमाणीकरण गरेको थिएँ ।

चालु आव सुरु हुने बित्तिकै म बिरामी भएर काठमाडौं गएको मौकामा उपप्रमुखले आफ्नो अध्यक्षतामा कार्यापालिका बैठक बसालेर सबै करारका कर्मचारी हटाउने निर्णय गर्नुभयो,’ उनले भने ,‘ म बाहिर गएको मौकामा गरेको निर्णय मान्ने हुँदैन भनेर मैले अडान लिएकै हो ।’

भदौ २० गतेदेखि निरन्तर समन्वय गरेर विवाद समाधानका गर्न लागिरहे पनि निकास निस्कन नसकेको उनले बताए । नेकपा एमालेबाट निर्वाचित मंगलसेन नगरपालिकाका नगरप्रमुख एवं नगरपालिका महासंघका केन्द्रीय सदस्य पदम बोहरा ,जिल्ला समन्वय समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहितको बैठकले पहिलेका करारका कर्मचारीको म्याद थपेर अघि बढ्ने सहमति भएर निर्णय भए पनि उपप्रमुखसहितको टोलीले नमानेको उनले बताए ।

‘उपप्रमुखले आफ्ना ठाडो निर्देशनमा १३ जना कर्मचारीलाई व्यक्तिगत र नगरपालिकामा काम गर्न निर्देशन दिनुभएको छ ’ उनले भने ,‘उहाँले मौखिक निर्देशन दिएका १३ जना साउनदेखि नगरपालिकामा आइरहेका छन् । उनीहरुलाई राख्ने भन्ने निर्णय कार्यपाललिकाले गरेको छैन । नगर उपप्रमुखले ती १३ जनामध्ये एक जना स्वकीय , एक जना आफ्नो लागि भान्से , एक जना कार्यालय सहयोगी न्यायिक समिति र एक जना कार्यालय सहयोगी आफ्नो कार्यकक्षका लागि राखेको मेयर ढकालले दाबी गरे ।

‘पहिले करारका कर्मचारी हटाउनु हुँदैन भन्ने अडानमा म थिएँ । तर विवाद चर्किन थालेपछि एक जना नरहने गरि सबै करारका कर्मचारी हटाऔं । सबै नयाँ राखौं भन्ने विकल्प अगाडि राख्दा पनि भएन,’ नगरप्रमुख ढकालले भने ।

कमलबजार नगरपालिकाकी उपप्रमुख कुँवरले नगरप्रमुख ढकालले लगाएका सबै कुरा आरोप मात्रै भएको र त्यसमा सत्यता नभएको प्रस्ट्याइन् । ‘कार्यपालिकाको बैठकमा एक निर्णय गर्ने बाहिर आएर अरुका कुरा सुनेर हप्ता दिनपछि यो निर्णयमा म सहमत छैन भन्ने मेयरको गैरजिम्मवार कारणले नै यो समस्या आएको हो,’ उपप्रमुख विष्टले भनिन् ,‘उहाँ आफ्नो जिम्मेवारीमा अडिग भए कमलबजारको सबै समस्या समाधान हुन्छ हामी पनि उहाँलाई सहयोग गर्न तयार छौं ।’

अघिल्लो कार्यकालका जनप्रतिनिधिले करारमा राखेका कर्मचारी नीति , विधि बाहिरबाट आएकाले अहिले त्यसो गर्न नहुने आफ्नो तर्क रहेको उनले बताइन् । ‘पहिले करारमा राखेका कर्मचारीलाई विज्ञापनको प्रक्रियाबाट ल्याउनु पर्छ,’ उनले भनिन् ,‘उहाँ आफू अनुकुल भए नीति र विधिका कुरा गर्नुहुन्छ । कर्मचारीलाई मिलाएर राखौं भनेको हो । उहाँले मान्नु भएन ।’ नगरप्रमुखले एमालेको बहुमतका कारण अप्ठ्यारो भएको बताए पनि एमालले बहुमत र अल्पमतको कुरा नगरेको उनले बताइन् ।

‘हिजो जसले जे गरे पनि अहिले त्यसो नगरौं भन्ने मेरो कुरा हो । स्वकीय, भान्सेलगायतका कर्मचारी राखेको भन्ने पनि गलत हो,’ उनले भनिन् ,‘अहिले पनि के गर्ने भन्ने बारे हामी छलफलमै छौं । उहाँले निर्णय नमानेको खण्डमा सबै जिम्मेवारी मेयरले नै लिनु पर्छ ।’

कमलबजारको विवादका कारण कर्मचारीले साउनदेखि तलब नपाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए ।‘अहिलेसम्म नगरपालिका अस्तव्यस्त नै छ । एकपछि अर्को विवादका कारण कर्मचारीसमेत मारमा परेका छन्’ उनले भने ,‘चाडबाडको बेला पनि तलब नपाएको अवस्था छ ।’

492
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja