2026/07/31

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन

Admin
Admin

२०८०-०५-२६

480
Shares
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ ।

उनलाई घरमै हृदयाघात भएपछि उपचारका लागि सोमबार राति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । तर उनको बाटोमै निधन भएको हो । 

शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार उनलाई राती १ः२० बजे अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउँदा नै उनको शरीर चिसो भइसकेको थियो ।

डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा औपचारिकरुपमा निधन भएको अस्पतालले घोषणा गरेको हो ।

को थिए नेम्वाङ?

हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेर इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष थिए।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वंर्गीय नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए। नेम्बाङ हाल इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित थिए । उनी गएको निर्वाचनामा ३० हजार २० मत प्राप्त गर्दै पाँचौं पटक विजयी बनेका थिए ।

नेम्वाङले पछिल्लो संविधान सभा निर्वाचनामा आफ्ना निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरेका थिए।

एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बनेका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भएका थिए। सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरिसकेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।

480
Shares

© News Kunja 2021-2026. All rights reserved.

News Kunja