धनगढी । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महशुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।
मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।”
सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको समेत जानकारी उनले दिए ।
थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।
एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भएपनि गरिबी, बिपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।