2026/07/28

सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

Admin
Admin

२०८०-०५-१७

570
Shares
सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन : नेता महर

मध्यविन्दु (नवरपरासी)

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताए । 

नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्र्रियामा नेता महरले भने, 'सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । कांग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।'

वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गरे । कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो । 'कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ', उनले भने ।

सामाजिक रुपान्तरणका लागि मुलुकमा कांग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेता महरले भने,  'शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा कांग्रेसको अहम भूमिका छ ।'

पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। 

570
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja