2026/07/28

सुन प्रकरण : चिनियाँ नागरिक दावा छिरिङ जब नेपाली नागरिक निमा तामाङ बने

Admin
Admin

२०८०-०५-१४

514
Shares
सुन प्रकरण : चिनियाँ नागरिक दावा छिरिङ जब नेपाली नागरिक निमा तामाङ बने

काठमाडौँ, १४ भदौ 

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । 

गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बनाएको छानबिन टोलीले पुष्टि गरेको हो । 

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न  गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 

समितिमा गृह मन्त्रालयको कानुनी शाखा अधिकृत प्रमोद विक, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने, अध्यागमन विभागका अधिकृत  खेमराज सापकोटा र जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत मीनराज थापा थिए ।

समितिले दुई हप्ता लगाएर गरेको अनुसन्धानमा उनले नेपालबाट नागरिकता लिएको पुष्टि भएको हो । उनी नेपालमा बेल्जियमको नागरिकका रुपमा पर्यटक भिसामा आएको अवस्थामा पक्राउ परेका थिए । 

उनले नेपाली नागरिकता लिएको पाइएपछि तथ्य पुष्टि गर्न अनुसन्धान टोली गठन गरिएको थियो । नागकिरता एकिन गर्न गरिएको अनुसन्धानमा उनले कीर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छानबिन समितिका एक सदस्यले राससलाई जानकारी दिए ।

'निमा लामाको नामबाट नागकिरता लिएको पुष्टि भयो, अनुसन्धानमा उनको सिआइबी, अध्यागमन विभागमा भएको बायोमेट्रिक र हिरासतमा भेटेर लिएको बायोमेट्रिक मिलेकाले उनकै नागकिरता भएको पुष्टि गरेका छौँ ', उनले भने । 

समितिले बनाएको प्रतिवेदन मन्त्रालयलाई बुझाइसकिएको छ । थप अपराध अनुसन्धान भने सीआईबीलाईले नै हेर्ने गरी सिफारिस गरिएको पनि समितिले जनाएको छ । 

दावालाई गत साउनको १३ गते शनिबार राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । ठमेलको होटल भियानामा छापा मारी उनलाई पक्राउ गरिएको थियो । १७ वर्षअघि पनि उनी पक्राउ परेका थिए । 

उनले २०७४ पुस २० गते नागकिरता लिएको खुलेको थियो । उनीसहित अन्य केही व्यक्तिले पनि नेपाली नागरिकता लिएको खुलेको छ । केहीसँग भारतीय आधार कार्डसमेत भेटिएको थियो । गत साउन ३ गते ब्रेक शुमा राखेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

अहिले उक्त प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गरिरहेको छ । छ विदेशीसहित २५ जना पक्राउ गरी सिआइबीले अनुसन्धान गरिरहेको छ । 

त्यसमा केही भारतीय केही चिनियाँ नागरिक पनि छन् । सुन प्रकरणकै सूचना सङ्कलनका लागि सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङ्कङ पठाइएको छ ।

514
Shares

धेरै हेरिएका

© News Kunja 2021-2026. All rights reserved.

News Kunja