आइतबार अपरान्हदेखि डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्स गुल्मबाट हराएका नेपाली सेनाका मेजर विमल पण्डितको खोजीका लागि थप प्रहरी बल खटाइएको छ ।
गुल्मपति पण्डित आज दिनभर खोज्दा पनि फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले बन्दोबस्तीका सामग्रीसहित थप प्रहरी खटाएर खोजीकार्य तीब्र पारेको हो ।
डोल्पा प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले रातभर खोज्नुपर्ने भएकाले गाडीसहित प्रहरीको अर्को टोली पनि खटाईएको जानकारी दिएका छन् ।
आइतबार अपराह्न साढे चार बजे इभिइनिङ वाकका लागि ब्यारेकबाट निस्किएका मेजर पण्डितले साँझ पाँच बजे काठमाडौँमा रहेकी श्रीमतीसँग फोनमा कुराकानी गरेका थिए ।
त्यसपछि दुनैबाट रिजर्भ गाडीमा त्रिपुरा पुगेका उनको मोबाइल स्विचअफ छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले हिजैदेखि खोजी गरे पनि अवस्था पत्ता लागेको छैन ।
आफ्ना सुरक्षा गार्डलाई 'तँ नआइज,आज म एक्लै जान्छु' भनेर फर्काएका पण्डित त्रिपुरातर्फ गएको सूचनाका आधारमा त्यही क्षेत्रमा खोजबिन भइरहेको छ । त्रिपुरा सेनाको ब्यारेकबाट झण्डै एक घण्टाको दूरीमा पर्दछ ।