काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्ष इस्राइल मन्सुरीले हस्ताक्षर गरेको प्रसङ्गलाई संकेत गर्दै ओलीले कांग्रेसजस्तो पुरानो पाटीले संविधान नमानेको देख्दा अचम्म लागेको बताउनुभयो । ‘माओवादीले संविधान मान्दिन भनेर हतियार उठाएर गएको थियो’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि मानेको छैन । तर कांग्रेसजस्तो पुरानो पार्टीले संविधानको खिल्ली उडाएको देख्दा अचम्म लागेको छ ।’
गठबन्धनले असंवैधानिक गतिविधि गरेकोसमेत उहाँले आरोप लगाउनुभयो । उपसभामुखलाई किन बिरामी पार्नु भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले गठबन्धनले जे जे असंवैधानिक गर्छ त्यसमा एमालेले साथ दिन्छ भन्ने कुरा नभएको बताउनुभयो ।
उहाँले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गर्नुभएको छ । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ ।
अहिलेको सत्ता गठबन्धन र खास गरेर सरकारको नेतृत्व गरेको माओवादीले द्वन्द्व बढाएको बताउनुभएको छ । ‘समाजवादी मोर्चाले समस्या पारेको छ । एकातिर प्रदेशको नामको पक्षमा भोट हाल्छ एको तिर बाहिर आउँछ ढुङ्गा मुढा गर्छ मान्छे मराउँछ । प्रचण्डको पार्टी, माधव नेपालको पार्टी र जसपाले द्वन्द्व बढाइरहेका छन्’ उहाँले भन्नुभयो ।
अहिलेको सरकारले साम्प्रदायिक द्वन्द्व बढाउने काम गरिरहेका समेत उहाँले आरोप लगाउनुभएको छ । देशको आर्थिक विकासका लागि दलहरू मिल्नु पर्ने उहाँको भनाइ छ । उहाँले गिरीबन्धु टी स्टेटको कुरा निकालेर सरकारले ‘चिल आयो चिल आयो’ भनेर कुखुरा चोर्ने काम मात्रै गरिरहेको बताउनुभयो ।